पाङटाङ यात्रा संस्मरण, जितेको युद्ध र दुखेको स्वाभिमान!
Powered by Blogger.
पाङटाङ यात्रा संस्मरण, जितेको युद्ध र दुखेको स्वाभिमान!


महाँभूकम्पका कारण देश तहस नहस भईरहेका बेला जनतालाई आजभोली बस् दुई छाक गाँस र एउटा त्रिपालको छानो चाहिएको छ।  बस्तिहरुमा फगत पिडा छ।  आफन्त गुमाउनुको पिडा, भोको पेटले केहि खोजिरहनुको पिडा, सर्बश्व गुमानुको पिडा र यिनै पीडाहरु भित्र देशको अनुभूति नहुनुको पिडा।  स्थिति यस्तो छ एक मुठी चामलका लागि जनताले  युद्ध लडेझैं गर्नु  स्वभाविक बनिसकेको छ।  तर माटाका गराहरु भत्किएपनि, घरबास नरहे पनि आज देश भित्र बाँचेका केहि गर्न सक्ने हातहरु उठेका छन्, देशत्वको महत्व बुझ्ने नागरिकहरु उठेका छन् र उठेका छन् देश बाहिर रहेका स्वाभिमानी नागरिकहरु, जसलाई फगत देशका जनताको भोको पेट भर्नुछ र गर्नुछ देशबासीलाई सहयोग।

विपदमा परेका नागरिकहरुलाई अहिले देश, विदेशबाट सहयोग प्राप्त भईरहेको छ।  सिए क्षेत्रकै कुरा गर्ने हो भने पनि आईक्यान , एक्यान , एनाकासा, र दिल्लीमा रहेका सिए बिधार्थीहरुले भूकम्प पिडितहरुलाई सहयोग गरिरहेका छन्।  यिनै मध्येको सबैभन्दा ठुलो राहतका पोकाहरु बोकेर आएको भूकम्प पिडित राहत कोष दिल्लीबाट आएको राहत टोलीले विभिन्न बस्तिहरुमा दिल्लीमा एक एक रुपैयाँ गरी जम्मा भएको करिव ५० लाख बराबरको सामान र २१ लाख बराबरको नगदी सहयोग लिएर गाउँ गाउँ  पुगिरहेको छ। र त्यहि सहयोग वितरणको एउटा संस्मरणको पाङटाङ कथा, जहाँ युद्ध जितियो र स्वाभिमान दुखेको अनुभव गर्यो यो लेखकले। 
बिहान करिव सात बजे बाट सुरु भयो पाङटाङ यात्रा। काठमाण्डौ स्थित टेक्नोलोजी सेल्सको भवनबाट सिन्धुपाल्चोकको यात्रा तय गरिरहँदा, मनभरी केवल पाङटाङका कल्पनाहरु थिए सबैसंग।  त्यो बिकट ठाउँहरुमा जसरि पनि पुग्नु थियो र वितरण गर्नु थियो जुटेका सहयोगका पोकाहरु।  हातमा हात मिलाउन यो लेखक पनि पुग्यो त्यतै र करिव १५ जनाको समूहसंगै हिड्यो दुखेको सिन्धुपाल्चोकतर्फ।  भातातमा सिए अध्ययन गर्ने थुप्रै नेपाली बिधार्थीहरुबाट संकलन गरिएको राहत वितरण कार्यक्रममा यसपाली अर्को खास प्रसङ्ग पनि थियो ," नेपालमा रहेका सिए बिधार्थीहरुको संगठन , एनाकासाका होनहार दाजुहरु पनि भारतबाट आएका सिए बिधार्थीहरुलाई हात मा हात मिलाउन आएका थिए।  कतिपय ठाउँमा पेशागत मतभेद रहे पनि यो विपदको क्षणमा उनीहरु मिलेको देख्दा साचै नेपालीत्वको अनुभव भईरहेको थियो यो लेखकलाई पनि।

यात्रा अगाडी बढ्यो।  पाङटाङलाई उद्देश्य बनाएर पाङटाङकै कुराहरु गर्दै राहत टोली अगाडी बढ्यो।  लामो बाटो छिचोल्दै, एनाकासाले गरेको मानबिय सहयोगको चर्चा गर्दै, भारतमा राहत उठाउँदाका प्रसङ्गहरुबारे चर्चा गर्दा टोली अगाडी बढ्दै थियो तर झन्डै आधा बाटो पनि पुगेको थिएन होला रोकियो हाम्रो गाडी। कारण बुझ्दा बीच बाटोमै रहेका स्थानीयहरुले आफ्नै ठाउँमा राहत वितरण हुनुपर्छ भनिरहेका रहेछन्।  उनीहरुको आवाज पनि नाजायज थिएन यदि उनीहरु साचै नै पिडामा परेका थिए भने।  तर उनीएहरुको शैली र मापसे गरी गरिएको ब्यबहार चित्तबुझ्दो पक्कै थिएन।


अर्को तर्फ यस अगाडी नै पाङटाङ पुगेर सहयोगको अनुमान गरी हामीले त्यहि अनुसारको राहत ल्याएका थियौं।  र त पाङटाङ यता हामी हाम्रो राहतलाई अन्यत्र वितरण गर्ने पक्षमा थिएनौ।  किनकि अन्य ठाउँमा अलि अलि राहत पुगीसकेको थियो र पाङटाङ हामीलाई कुरिरहेको थियो। केहि बिबाद भयो।  प्रहरी आयो।  गाउँका केहि स्थानीयले पनि हाम्रो समस्या बुझिदिए र केहि छिन कोविवाद भए पछी हाम्रो गाडी अगाडी बढ्यो।  तर पनि निहुँ खोजेका एक मापसेवालाले  हामीबाट दुई बोरा चामल खोसे, हामीसंग केहि विकल्प थिएन।

तर त्यसको केहि मिनेट अगाडी नजाँदै एनाकासाबाट आउनुभएका दाजुहरुले आफुहरु अगाडी नजाने बताउनुभयो। मैले जाउँन संगै जाने हो भन्दा एनाकासाका एक  दाजुले भन्नु भयो ," हामी ले त सबै ब्यबस्था छ भन्ने सुनेका थियौं।  हामी मानबिय सहयोगको लागि मात्र आएका हौँ। " संगै आउनु भएका अर्का एक सिए साप ले थप्नु भो "त्यहाँसम्म त हाम्रो गाडी नै जादैन" हामी धेरै अनुरोधको पक्षमा पनि थिएनौ  र सायद हामीसंग उनीहरुलाई जवर्जस्ती अगाडी लाने अधिकार पनि थिएन।  र थिएन हामी संग समय पनि किनकि हामी जसरी पनि पाङटाङ पुग्नु थियो।तरहामी ले सब ब्यबस्था छ भन्ने सुनेका थियौं भन्ने शब्दको अर्थ थाहा भएन र थाहा पाई राख्नलाई समय पनि थिएन।


कता कता चित्त दुख्यो।  बल्लबल्ल राहतका नाममा मिलेका हातहरुलाई उनीहरुले छुट्टाउन खोजेजस्तो लाग्यो।  यो लेखक पनि आईक्यानको नियम अनुसार त्यहि संगठनको सदश्य भएकाले साचै नै नरमाइलो लाग्यो।  र दुख्यो स्वाभिमान।  गाडी गुड्दै थियो।  दाजुहरु आउनुभएको जस्तै गाडीहरु बाटोमा देख्दा झनै असहिय हुन्थ्यो।  कता कता आफु हारे जस्तो लाग्यो।  "हामीसंगै आएको त्यो टोलि खोई ? " टोलीका एक जना साथीले सोध्दा ," मैले छातिमा ढुंगा राखेर फर्कनु भयो भनें ।  उनले फेरी  सोधे,"किन? " मसंग त्यसको चित्त बुझ्दो जवाफ थिएन।  कतिले यिनीहरु त फगत घुम्नका लागि मात्र आएका रहेछन् पनि भने।  म संग त्यस्तो होइन भन्ने खास तर्क पनि थिएन।

दुखेको स्वाभिमान बोकेर हामी अगाडी बढ्यौं।  साझं पर्न लागेको थियो।  र पनि हामी बढी रहयों अगाडी।  झन्डै रातको ८ बजिरहँदा हाम्रो गाडीले लोड धान्न सकेन र बिचैमा अलपत्र पर्ने भयो।  तर हामीसंग साहस थियो।  बिहान देखिको भोको पेट भए पनि अलि अलि भएको जोसलाई प्रयोग गर्दै हामीले गाडी धकेल्यौं।  र पनि केहि सिप लागेन।  त्यसपछी पाङटाङ नै हिड्न लागेको बसमा हामीले केहि सामान अनलोड गर्यौं र अगाडी बढ्यौं।  तर सायद दैबले पनि हाम्रो परिक्षा लिंदै थियो। 

हाम्रो अर्को गाडी पनि बिग्रियो।  बाइकमा कुदिरहनुभएका साथीहरुले पनि हार मान्नुभएन।  त्यसपछी संगै रहनुभएको अर्को गाडी लिएर हामी अगाडी बढ्न खोज्यौं तर त्यहाँ पनि स्थानीयको अवरोध भयो।  मापसेमा लट्ठ भएका केहि स्थानीयले हामीलाई अगाडी बढ्न दिएनन्।  खुल्ला रुपमा भन्नु पर्दा उनीहरु हामीलाई लुट्न आएका थिए।  अन्त्यमा केहि सिप नलागेपछी हामीले दश बोरा चामल र केहि त्रिपालहरु त्यहाँ छोड्यौं।  त्यो हाम्रो रहर भन्दा बढी बाध्यता थियो।

गाडी अगाडी बढ्यो तर हामीलाई रोक लगाउने क्रम जारी भयो।  थुप्रै ठाउँमा हामीलाई लुट्न भनेर आएका हरुलाई हामीसंग रहनु भएकाकेहि स्थानीयहरुले लखेट्नु पनि भयो।  यहाँनेर आएर फेरी देश दुख्यो।  स्वाभिमान दुख्यो।  अहिले गाविसहरुमा त यस्तो मतभेद छ देशमा जातीय प्रदेश भयो भने के होला भन्ने नमिठो चिसो पस्यो।  र पनि दुख्नुको विकल्प थिएन।  रात निकै नै छिपिसकेको थियो।  खाने कुरामा केहि पोका बिस्कुट र चाउचाउ बाहेक केहि थिएन।  र पनि हामीले हारेनौ।  अगाडी बढ्ने क्रम जारी थियो।  र थुप्रै दुखहरु झेल्दै हामी अन्तत : पाङटाङ  पुग्यौं बिहान करिव ४ बजे।
हामी संग समय थिएन।  र सुरु गर्यौं हाम्रो कर्म।  हामीसंग आउनु भएका डाक्टर सापहरुले मेडिकल क्याम्पियन सुरु गर्नु भयो।  र संगै सुरु भयो राहतको कार्यक्रम पनि।  गाउँ पुरै सोतर भएको रहेछ।  मान्छे भोकमरीले मर्न लागेका रहेछन्।  आफन्तको किरिया गरिरहेकाहरु देखि सुत्केरी सम्मको ब्यथा उस्तै थियो। 

सबैका आ-आफ्ना पिडा, आ-आफ्नै दुख।  कतिपय ठाउँमा मान्छे पोल्न समेत जनशक्ति नभएकाले कोशी नदीमा लाशहरु फालिरहेको यथार्थ देख्दा  फेरि  देश दुख्यो र संगै देशको स्वाभिमान पनि।  उनीहरुलाई फगत् राहत चाहिएको थियो र हामीले त्यहि दियौं।  अहिले खुशीको सिमा छैन कसैसंग। 


बिकट पाङटाङ यात्रामा एक युद्ध जिते झैँ लाग्यो।  अघिल्लो दिन खाना नखाएका हामीलाई त्यहाँ भएको आर्मी क्याम्पबाट खाना खान निम्तो आयो र हामीले त्यहि निम्तो स्युकार्यों।  अब मन झन् शान्त भयो।  भोक मेटियो युद्ध जितियो।  यसरी हामी त्यसपछी काठमाण्डौ फर्क्यौं। युद्ध जितेर र स्वाभिमान दुखाएर।  बस् मनमा एउटा कुराले दुखाईरहेको थियो , आखिर सम्भव रहेछ त यहाँ सम्म आउन एनाकासाका दाजुहरु किन फर्कनु भयो भनेर।

  उहाँहरुको जस्तै गाडी पाङटाङ  सम्म पनि पुगेको देख्दा मन  झनै दुख्यो र दुख्यो स्वाभिमान पनि।   र दुख्यो स्वाभिमान नेपालीहरुले  गाबिसका नाममा भोका नगारिकहरुलाई पनि बर्गिकरण गर्ने तरिका देखेर।  थाहा छैन ती नेपाली हरुलाई देखेर हामीसंगै आउनु भएका बिदेशी डाक्टर पाहुना र सहयोग गर्न आउनु भएका पोल्याण्ड नागरिक 'जो' ले के सोच्नु भयो भनेर। र थाहा छैन दिल्लीमा रहेकाहजारौं बिधार्थी हरुमाझ एनाकासाले गरेको असहयोगका प्रति कस्तो संदेश जान्छ भनेर। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses