भूकम्पले दिएको पाठ, सिए विधार्थी मुन्ना शर्माको लेख
Powered by Blogger.
भूकम्पले दिएको पाठ, सिए विधार्थी मुन्ना शर्माको लेख

वैशाख १२ को विनाशकारी भूकम्पले नयाँ वर्षको सुरुआतसँगै सिंगो देशको जनजीवनलाई तहसनहस पारिदिएको छ। हजारौंको मृत्यु भयो। अधिकांश घरहरु भत्किएका छन्। जनधनको ठूलो क्षति भएको छ।

 वर्षौ–वर्षसम्म ओत दिँदै आइरहेको घर आज आफ्नै असुरक्षाको कारण बनेको छ। भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढ्दो छ। पुरातात्विक र ऐतिहासिक राष्ट्रिय सम्पदा, मन्दिर आदिले आफ्नो अस्तित्व गुमाएका छन्। एकसय ९० वर्षको इतिहास बोकेर उभिएको धरहरा अब रहेन। प्राचीन राज्यकालीन इतिहास बोकेका सुन्दर दरबार कुरूप बनेका छन्। डर र त्रासले भूकम्पबाट बाँचेकालाई पनि पिरोलिरहेको छ।

भूँइचालोपछि म आफ्नो परिवार र छिमेकीहरूका साथमा घरबाहिरको खेतमा गएर बसेँ। प्रायः सबैको हालत उस्तै थियो। अझ कसैको कथा त यति भयानक कि सुन्दै मुटु चिरिएर आउने, कसैले घर गुमाएका थिए, कसैले आफ्नो परिवार। यसपालि भूकम्पको कहालीलाग्दो रुप नै देखियो। त्यसमाथि अझै ‘चन्द्रमा उल्टो भयो रे!’

चिडियाखानाबाट बाघ निस्केको छ रे!’, ज्वालामुखी फुट्दै छ रे!’, यस्ता–यस्ता आफवाहले भूकम्पबाट आत्तिएको मानिसको मानसिकतालाई थव आतंकित बनायो।

भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त देश भनेर जान्दाजान्दै पनि पूर्वसतर्कता अपनाउन नसक्नाले मुलुक चरम पीडामा परेको हो। तर, यस्तो विपत्ति सधैं आइरहँदैन र यो विपत्ति आयो भनेर खुम्चिएर बस्ने समय पनि हैन अहिले। जस्तोसुकै विपत्तिसँग हार नमानी एकजुट हुनसक्ने नेपालीको इतिहास छ। हो, भूकम्पले राष्ट्र डगमगाएको हो। तर, राष्ट्रियता डगमगाएको छैन। राष्ट्रिय धरोहरहरु भत्किएका हुन्, सकिएका हैनन्। यी धरोहरहरुलाई फेरि उठाउनु छ। त्यसका लागि सर्वप्रथम यहाँका जनतालाई यो पीडाबाट बाहिर निकाल्नु छ।

देश बनाउन सर्वप्रथम देशबासीको उद्धार हुन जरुरी छ। र, खुसीको कुरा, यसका लागि धेरै सहयोगी हातहरु एकजुट पनि भएका छन्।

उद्धार र राहतमा जुटेका ती पौरखी हातहरुलाई म नमन गर्न चाहन्छु। सहयोगका लागि जुटेका ती सम्पूर्ण स्वदेशी–विदेशी मनहरुलाई मेरो सलाम! तर, विडम्बनाको कुरा, सहयोग र राहतका सामग्री भित्रिएर पनि कतिपय नेपालीहरु अझैपनि छानाविहीन छन्।

कतिले अझै खानेकुरा पाएका छैनन्। आफ्नो ठाउँबाट सहयोग त सबैले गरिरहेका छन्। यस्तो बेलामा हामी आफैं पनि एकजुट भइ एकअर्काको सहारा बनेर अघि बढौं।

यो विनाशकारी भूकम्पबाट हामी नेपालीलहरुले ठूलो पाठ पनि लिनुपर्ने बेला आएको छ। यसपालि त खुला खेतमा पाल हालेर बस्यौं। तर, अबका केहि वर्षमा त यी खाली जग्गा पनि नरहलान् त्यो बेला के गर्ने? विकल्प खोज्न जरुरी छ।

विपत्तिले सबैलाई समान रुपमा बिथोल्यो। को पहाडी, को मधेसी भूकम्पले कसैलाई छाडेन। भूकम्पले घर–महल हुने र नहुने सबैलाई सडकमा ल्याइदियो। खुल्ला मैदानको पालमा आफ्नो र आफ्नाको सकुशल जीवनको प्रार्थना गरिरहँदा हामीलाई धनी–गरीबको भेदले छोएन। हामीले एक भएर विपत्तिको सामना गर्‍यौं। बाँचेकाले अरुलाई बचाउन मद्दत गर्‍यौं। यो एकताको भाव यसैगरी सदैव हामी नेपालीमा हुन जरूरी छ।

नेपाल हाम्रो घर हो। यो घरका केहि अंश भत्किएका छन्। त्यसलाई बनाउने जिम्मा हाम्रो हो। घरका कति सदस्य अझैं रोइरहेका छन्। उनीहरुलाई हँसाउने जिम्मा हाम्रै हो।

कतिपय युवाहरु काँधमा–काँध मिलाइ राष्ट्र निर्माणमा लागिसकेका छन् । यो हौसला र एकता यसरी नै कायम रहोस्। आजसम्म कसैसँग नझुकेको हामी डटेर विपत्तिको सामना गरेको इतिहास पनि कायम रहोस्।

 हो, यतिबेला देश रोएको छ। एकजुट भएर एउटा नेपालीले अर्को नेपालीलाई साथ दिने हो। परिवारविहीन बनेका मानिसको मुहारमा फेरि आत्मविश्वास जगाउने हो। मलाई बिश्वास छ, हाम्रो देश पुनः हाँस्ने छ। नेपाली झन्डामा रहेको सूर्य फेरि पनि मुस्कुराउने छ !- सेतोपाटि बाट


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses